लन्डनको भारतीय हाइ कमिसनमा बुझाईयो संयुक्त विरोधपत्र (फोटो फिचर)

लन्डन ।प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ)यूके नेपाली जनसम्पर्क समिति यूके,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीको संयुक्त टोलीले बेलायतस्थित भारतीय हाई कमिशनलाई सीमा अतिक्रमणको विरोधपत्र संयुक्त रुपमा बुझाएका छन् । यो विरोधपत्रसँगै राष्ट्रियताको सवालमा नेपालका सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएको सन्देश गएको छ । बेलायतस्थित नेकपानिकट प्रवासी नेपाली एकता मञ् ओएनयूएफका अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क समिति यूकेका अध्यक्ष युवराज गुरुङ,एनपिसिसी यूकेका पूर्व महामन्त्रि आरके त्रिपाठी,बेलायतस्थित राप्रपाका अध्यक्ष रोशन सापकोटा जनता समाजबादी पार्टीका अध्यक्ष चन्द्र गुरुङसहितको सयुक्त उपस्थितिमा आज शुक्रबार रेनसलेनमा रहेको पोष्ट अफिसमार्फत् भारतीय हाई कमिशनलाई विरोधपत्र संयुक्तरुपमा पोस्ट गरेका हुन् ।

सो विरोधपत्र बेलायतस्थित भारतीय हाई कमिशन हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष पुग्ने बताए । बेलायत सरकारद्वारा तोकिएको सामाजिक दूरी कायम राखी राजनीतिक दलको भातृसंस्थाका नेतृत्व तहमा रहेका व्यक्तित्वको सहभागीतामा विरोधपत्र हुलाकमार्फत बुझाएको हो ।

भारत सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि अतिक्रमण गरी चीनको मानसरोवर बाटो खोलेको थियो । भारतले निर्माण गरेको बाटो नेपाल सरकारले आफ्नो भूभाग भएको जनाउदै गत बिहीबार नक्सा सार्वजनिक गरेको छ ।

नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्साका चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आ–आफ्नो मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत् भारतीय प्रधानमन्त्री मोदीलाई विरोधपत्र बुझाइरहेका छन् ।