एनआरएनको सचिवमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा

काठमाडौं– एनआरएनको सचिवमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा गरेका छन् ।

एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केसीले पत्रकार सम्मेलन गर्दै सिड्नीमा उम्मेद्वारी घोषणा गरेका हुन् । केसीले संस्थालाई राष्ट्रियस्तरमा अझ मजबुत र सशक्त बनाउने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएन आईसीसी र एनसीसीबीचको सम्बन्ध बलियो बनाउँदै एक एनसीसी एक क्षेत्रमा लगानीको अवधारणाका साथ आफु पुन: उम्मेदवार भएको केसीको भनाइ छ । उनले बैदेशिक रोजगारीमा देखिएका समस्याको समाधान गर्ने र नेपालमै सिपमुलक तालिमको व्यबस्था गर्न सरकारसँग सहकार्य गरी पहल गर्ने पनि आफ्नो उद्देश्य रहेको स्पष्ट पारेका छन् ।

केसी सन् १९९५ देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । उनकै कार्यकालमा अष्ट्रेलियामा सामाजिक कल्याणकारी कोषको स्थापना भएको थियो । उनले नेपालको जलविद्युत क्षेत्रमा सामूहिक लगानीको अवधारणा एनआरएन आईसीसीले ल्याउँदा अष्ट्रेलियाबाट मात्रै २७ करोड लगानी गराउन आफु सफल भएको पनि बताएका छन् । उनले अष्ट्रेलियामा मात्र नभई मलेसियामा पनि गत वर्ष सामाजिक कल्याणकारी कोष स्थापनाको लागि सहकार्य गरेको र १ करोड रुपैयाँ संकलन गरी मलेशियामा रहेका नेपालीको हितमा परिचालन गरेको बताए ।