सर्वोच्चमाथि ओलीको कटाक्ष- ‘दुर्गाभवानीले अदालतको स्वाधिनता जोगाउन्’

गैँडाकोट- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका पछिल्ला निर्णयहरुप्रति तिखो प्रहार गर्नुभएको छ । नेकपा एमाले गैँडाकोट नगर कमिटिले बुधबार आयोजना गरेको आमसभामा बोल्दै ओलीले अदालतप्रति आक्रोश पोख्नुभएको हो ।

‘अदालतले इन्साफ दिुनपर्छ, लोकतन्त्रमा अदातलतले न्याय दिन सक्नुपर्छ । अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राखोस’, गैँडाकोट–५ कांग्रेस चोकस्थित जनक माविको खेल मैदानमा गरिएको सभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘दुर्गा भवानीले अदालतको स्वाधीनताको रक्षा गरुन् । श्रीमानहरुको दिमाग पनि यो कुराको हेक्का रहोस । अदालत अदालत जस्तो होस् ।’

अध्यक्ष ओलीले चितवनको भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको कुरालाई ठीक भनेर अदालतले आफ्नो गरिमामा क्षति पुर्याएको बताउनुभयो । ‘मत पत्र च्यातेको अदातल ठीक छ भन्छ । एउटा प्रहरीमाथि भएको अन्याय पनि ठीक भन्छ । दसैँ आइपुगेको छ, दुर्गा भवानीले श्रीमानहरुमा शुभआशीर्वाद प्रदान गरुन् ।’

करिब पौने घन्टासम्म बसेर भाषण गर्नुभएका अध्यक्ष ओलीले निर्वाचन आयोगमाथि पनि आक्रोश पोख्नुभयो । भरतपुरमा कांग्रेस–माओवादीले मतपत्र च्यात्दा आयोगकले खेलेको भूमिकाप्रति ओलीले निशाना साँध्नुभयो । ‘मतपत्र च्यातिएपछि निर्वाचन आयोग कारबाही गर्छु भन्दै सुरुमा कस्सियो’, ओलीले भन्नुभयो, ‘कांग्रेस–माओवादीले च्यातेको भनेपछि ए ! कसले अरे भनेर पन्छियो ।’