क्रिकेट विकास बोर्ड बनाउन आईसीसी तयार

काठमाडौं, भदौ १९ । नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ ।

विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली पक्षसँग आज गरेको छलफलमा यस्तो सहमति भएको हो ।

छलफलमा नेपालको तर्फबाट युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत सहभागि थिए ।

लामो समयदेखिको विवाद समाधानको लागि हालको क्रिकेट संघ क्यानको संरचना खारेज गरी क्रिकेट विकास बोर्ड गठन गर्न खेलकुद परिषदले प्रस्ताव गरेको थियो ।

आईसीसी टोलीले यसमा सहमति जुटाउँदै तत्काल सल्लाहकार समूह बनाउने भएको छ । विवादरहित ५ देखि ७ सदस्य रहने यस समूहले बोर्ड गठनको लागि सल्लाहकार समितिको रुपमा काम गर्नेछ ।