पहिलेका कुख्यात डाँकु अहिलेका विख्यात साधु

गगगनशिला खड्का
गुल्मी २५ माघ । कुनै जमाना यस्तो थियो जसको नाम सुन्दा वित्तिकै भारतिय नागरिकहरु तर्सिन्थे । सन १९५८ देखि १९७२ सम्म भारतको मध्य प्रदेश स्थित चम्वलगढीमा उनको नाम सुन्दा नै स्थानियहरु त्रसित हुन्थे । त्यतिबेला उनले व्यापक आंतक मच्चाई भारतिय सरकारलाई समेत त्रर्साएका थिए । उनलाई २ सय जनाको हत्या गरेको र २ सय ५० भन्दा बढिको लुटपाट गरेको आरोपमा फाँसीको सजाय सम्म सुनाईएको थियो । कनै समयका कुख्यात डाँकु रहेका पञ्चमसिंह चौहान अहिले शान्तिको शन्देश छर्दे देशविदेशमा प्रवचन दिन पुग्छन भन्ने सुन्दा आश्चर्य लाग्न सक्छ ।
यसै अभियान अन्र्तगत चौहान पहिलो पटक नेपालको गुल्मी जिल्लामा आएका छन् । व्रम्हाकुमारी ईस्वरीय विश्वविद्यालय गुल्मी शाखाको निमन्त्रणामा उनी यहाँ आएका हुन् । तत्कालिन प्रधानमन्त्री ईन्दिरा गान्धीले कुख्यात डाँकु चौहानलाई शान्तिको वाटोमा डोराएको उनले बताए ।
“ १४ वर्षसम्म म र मेरो गिरोहले मध्ये प्रदेशका २५ जिल्लामा डाँकु सत्ता चलाएका थियौं ” – पञ्चमसिंहले भने – १९७२ मा राजसत्ता चलाई रहेकी तत्कालिन प्रधानमन्त्री ईन्दीरा गान्धीले शान्ति वार्ताको प्रस्ताव राखेपछि हामीले ८ वटा सर्तमा आत्मसमर्पण गरेका हौं । ”
खुल्ला जेलमा आफुहरुलाई राखिनु पर्ने, आफुसहित आफ्ना साढे पाँच सय लडाकु साथीहरुका परिवार र उनिहरुले मारेका व्याक्तिका परिवारलाईसमेत त्यति नै जमिन र शिक्षादिक्षा राज्यले दिलाउनु पर्ने लगायतका ८ सुत्रीय माग ईन्दिरा गान्धीले पुरा गराई दिएपछि आफुहरुले वन्दुक विसाएर मध्ये प्रदेशको खुल्ला जेलमा वसेको उनले बताए ।
सोही जेलमा ईन्दिरा गान्धीले व्रम्हाकुमारी ईस्वरीय विश्वविद्यालयका व्रम्हाकुमारीहरुलाई प्रवचन गर्न लगाएर शान्ति र अहिंसाको वाटोमा लगाएको उनको भनाइ छ । गत ३४ वर्षअघि व्रम्हाकुमारी ईस्वरीय विश्वविद्यालयमा प्रवेश गरेका व्रम्हाकुमार पञ्चमसिंह भाईका रुपमा भारतमा विख्यात भएका छन् ।
३४ वर्षको उमेरमा गाउँका फटाह, सामन्तहरुको विरुद्ध वन्दुक वोकेर जंगल पसेका पञ्चमसिंहले आफु जंगल पसेपछि श्रीमति, घरपरिवारलाई तत्कालिन सरकारले दुख समेत दिएको स्मरण गरे । सन १९७२ अघि प्रधानमन्त्री ईन्दिरा गान्धीको सरकारले तत्कालिन डाँकु पञ्चमसिंहलाई जीवित वा उनलाई मारेर टाउको ल्याउनेलाई २ करोड भारतिय रुपैयाँको पुरस्कार समेत राखेको उनको मानसपटमा अझै ताजै छ । उनले नेपाल त्यो पनि गुल्मीको प्रसिद्ध तपोभुमी रेसुङ्गाको काखमा बस्न पाएकोमा खुशी व्यक्त गरे । उनले गुल्मीको चारधाम मध्येको एक प्रसिद्ध धार्मिक स्थल रुरु क्षेत्रको दर्शन गरी आईतवार नै भारत फर्किने बताए । खुँखार डाँकुबाट साधुमा रुपान्तरित पञ्चमसिंहलाई पहिलोपटक नेपालमा त्यो पनि गुल्मीमै ल्याउन पाएकोमा आफुहरु गर्वित भएको बताउँदै व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तम्घासकी प्रमुख प्रशिक्षक व्रम्हाकुमारी सिमाले उनको स्वागत गरेकी थिईन् । पत्रकार सम्मेलन गरेर पञ्चमसिंहले तत्कालिन डाँकु जिवनको अनुभव र पछि आफुमा आएको सकारात्मक सोचको विकासका वारेमा प्रवचन समेत दिएका थिए ।