नेपालमय बन्यो लन्डन केम्पटन पार्क स्टेडियम, नेपाली मेलामा हजारौं सहभागी (भिडियोसहित)

  • शिव भण्डारी

लन्डन– तमुधिं यूकेको आयोजनामा भएको ९ औं नेपाली मेलामा नेपालीको उपस्थिति भव्य रह्यो । लन्डनस्थित केम्पटन पार्क रेस कोर्स स्टेडियम पूरै नेपालमय भएको छ ।

हजारौं नेपालीको उपस्थितिका बीच बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेलाको उदघाटन गरे । कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष शेष घले विशेष अतिथिकारुपमा उपस्थित थिए ।

तमु धी युकेका अध्यक्ष उपाध्यक्ष एवं मेला संयोजक हितकाजी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममाको सञ्चालन महासचिव कृष्ण गुरुङले गरेका थिए ।

मेला हेर्न हजारौं सहभागी हुँदा स्टेडियम अनि आसपास क्षेत्र नेपालीले भरिभराउ थियो । सहभागीले आफ्नै मातृभूमिको आंगनमा रमाए जस्तो अनुभूति गरे । जताततै नेपाली अनि तिनका परम्परागत भेषभुषा र गरगहना देख्दा नेपाल भन्दा टाढा रहेजस्तो महसुस नै नभएको सहभागीले बताएका छन् ।


कार्यक्रममा गुल्मेली नौमती बाजाले विशेष आकर्षण दिएको थियो ।

हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ सुरु गरिएको मेलामा विभिन्न संघसंस्थाका झांकीसहित युवाहरुका लागि लाइभ म्यूजिक, गीत संगीत, नृत्य प्रतियोगिता, खाना प्रदर्शनी, आदि आकर्षण रहे ।

मेला संयोजक तथा आयोजक तमुधिं यूके उपाध्यक्ष हितकाजी गुरुङले मेलामा बेलायतका विभिन्न जातीय, सामाजिक तथा पेशागत २५ संघसंस्थाले झाँकी प्रदर्शन गरेको जनाए ।

मेलाका प्रमुख अतिथि लन्डनस्थित नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपाली कला संस्कृति जोगाउन तमुधि यूकेले गरेको प्रयासप्रति प्रशंसा गर्दै मेलाले विविधताको देश नेपालका जनता एकतामा रमाउन सक्छन् भन्ने सन्देश दिएको उल्लेख गरे ।

औपचारिक चरणमा मन्तव्य दिंदै आयोजक तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले नेपाली कला संस्कृतिको संरक्षण एवं सम्बर्द्धन र नेपालीहरुलाई एकै ठाउंमा एकत्रित गर्न भेला आयोजना गरिएको प्रष्ट्याए । उनले मेलाका प्रायोजक तथा स्वयंसेवक, संचारकर्मी एवं अन्य सबै सहयोगी र दर्शकप्रति आभारसमेत व्यक्त गरे ।

मेला हेर्न चीन, बंगलादेश, म्यान्मार, साइप्रस, यमन, निकारागुवा, सेनेगल, फिलिपिन्स, माल्दिभ्स, इराक, इजरायल, लेसोथो, घाना, जमैका जस्ता विभिन्न देशका १६ राजदूतसहित कुटनीतिज्ञ, बेलायती सांसदहरु, स्थानीय मेयर, काउन्सिलरहरु आदि सहभागी भए ।

यसैबीच, तमुधिं यूकेले मेलाको अवसरमा सप्तरीका बाढी पीडितलाई १० लाख रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ । तमुधिं यूकेले आफ्ना संरक्षक एवं एनआरएनए आइसीसी अध्यक्ष शेष घलेमार्फत उक्त रकम बाढी पीडितलाई दिएको हो । साथै, समारोहमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पांचजना गोर्खा तथा चार एभरेष्ट म्याराथन धावकहरुलाई पनि सम्मान गरियो ।

कार्यक्रममा उत्कृष्ट झांकी र नाच गरेर लमजुङ समाज यूकेले एघारसय पाउण्डको एम्बासडर कप र एनआरएनए कप जित्यो । एम्बासडरमा विभिन्न झाँकीबाहेक नृत्य प्रतियोगिता, चिनिया ड्रयागन नाच, कोरियन डान्स, तेक्वान्दो कला प्रदर्शनी र राफल चिट्ठा थिए ।

मेलामा वृद्धवृद्धा आफ्ना दौंतरी अनि नातेदार भेट्न पाउँदा निकै रमाएका देखिन्थे । अगाडि पछाडि राखिएको बीग स्क्रिनले पनि मेलाको सौन्दर्यता थप्यो । यसपटक मेलाले झन् बढि लोकप्रियता बटुल्यो । उत्कृष्ट झांकी र नाच गरेर लमजुङ समाज यूकेले एघारसय पाउण्डको एम्बासडर कप र एनआरएनए कप जित्यो । एम्बासडर कपमा घान्द्रुक समाज यूकेले दोश्रो र सिक्लेस पार्चे कम्युनिटी यूकेले तृतीय पुरस्कार जिते ।

कार्यक्रममा तमुधिं लन्डन इकाइ अध्यक्ष डेभिड गुरुङले, १० हजार भन्दा बढी दर्शक सहभागी भएको जनाउँदै मेलाले नेपाली कला संस्कृति संरक्षणबोहक नेपालीलाई एकवद्ध गर्न सफल भएको लण्डन नेपाल न्यूज डटकम लाइ बताए  ।

करिब १० हजार सहभागी उक्त कार्यक्रम विगतवर्ष भन्दा सफल ठानिएको छ ।