वैद्य माओवादीले फागुन १ देखि जनकारवाही थाल्ने

काठमाडौं २० माघ। मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले ‘भ्रष्ट-दलाल’हरुमाथि जनकारवाही सुरु गर्ने बताएको छ ।

नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा केही दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा फागुन १ देखि चैत २४ गतेसम्म संगठन र संघर्षको अभियान चलाउने प्रस्ताव गरिएको छ । मौखिकरुपमा पेश गरिएको प्रस्तावमाथि बुधबारबाट थप छलफल हुने नेताहरुले बताएका छन् ।

अभियानका क्रममा देशभर संगठन सुदृढीकरणसँगै जानकारवाही अभियान चलाउने प्रस्ताव छ । ‘सामाजिक विकृति विसंगति, भ्रष्ट दलाललाई जनकारवाही गर्ने प्रस्ताव आएको छ’ एक नेताले भने-‘देशभरमा २ सयवटा यस्ता कारवाही गर्ने तयारी छ ।’

यसका लागि राष्ट्रिय युवा जनस्वयंम सेवक ब्यूँताइने छ । उदयबहादुर चलाउने ‘दीपक’ नेत्रविक्रम चन्द विप्लवसँगै पार्टी छाडेर गएपछि बैद्य माओवादीमा यो संगठन लगभग थिएन ।

नेताहरुका अनुसार विप्लवकै योजनाअनुसार बनेको जनस्वयंम सेवकका अधिकांश नेता कार्यकर्ता उनीसँगै गएका छन् ।

३७ केन्द्रीय सदस्य थपिए

माओवादीको बैठकले विप्लव समूह छाडेर गएपछि रिक्त हरेका पदहरुमा नेताहरुलाई बढुवा गरेको छ । बैकल्पिक केन्द्रीय सदस्यहरुलाई पूर्ण बनाइएको छ भने केही नयाँ आएका छन् ।

माओवादीका अनुसार ३७ केन्द्रीय सदस्य थपिएको छ । उनीहरु बैठकमा सहभागी भइसकेका छन् । विप्लव समूहले पार्टी छाडेपछि १५१ सदस्यीय केन्द्रीय समितिका ८७ जना मात्रै बाँकी थिए ।