लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको आगामी अधिवेशन सम्पन्न गर्न विशेष माहौल सुरु भएको छ । लन्डन माया पबमा आइतबार भएको कार्यक्रममा जनसम्पर्क समिति अधिवेशन संयोजन समितिका सभापति लोक गुरुङ, सदस्यहरु विज्ञान प्रसाईं, पूर्वसभापति विनोद मोक्तान एवं संयोजन समिति सदस्य चेतनाथ खनालले विशेष सम्बोधन गर्दै आजैदेखि सदस्यता लिइदिन आग्रह गरेका छन् ।
त्यसैगरी विधान समितिका संयोजक शिवजी श्रेष्ठले प्रारम्भीक छलफल र सुझावका लागि पेस गरेको विधानको लागि राय संकलन गर्न समितिका तर्फबाट सदस्य सचिव आर.के त्रिपाठीले विधानको विशेष पत्रको बारेमा प्रकाश पारे । प्रस्तावित संशोधित विधानमा एक सभापति, तीन उपसभापति, दुई महामन्त्री ४ सह- महामन्त्री लगायत पदाधिकारीहरु रहनेबारे छलफल गरिएको छ । नेपाली जनसम्पर्क समिति बेलायतमा १०४३ जना सक्रिय सदस्य भइसकेका छन् । थप सदस्यहरुलाई आगामी अगष्ट १५ सम्ममा सदस्यता लिइदिन नेता युवराज गुरुङले आह्वान गरेका छन् ।
यसैबीच जनसम्पर्क समिति बेलायतको अधिवेशनको मिति तय भएको छ । आगामी सेप्टेमबर १६ अधिवेशन हुने तय भएको हो । अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधि, नेताहरु शेखर कोइराला, एनपी साउद, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डेयलगायतका नेताहरु लन्डन आउने तयारी छ ।







