
लन्डन । एनआरएनए यूकेको कार्यसमिति बैठक शनिवार सम्पन्न भएको छ । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा शनिबार अल्डरसटमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले सदस्यता शुल्क २५ पाउण्ड नै कायम गर्ने निर्णय गरेको छ । शुल्क महंगो भएको गुनासो आएपनि बैठकले निर्णय भइसकेको कुरामा पुनर्विचार नगर्ने निष्कर्ष निकालेको हो । नेपालमा एनआरएनए घर निर्माणका लागि रकम आवश्यक भएको जनाउंदै केन्द्रले आर्थिक सहयोग अपेक्षा गरेपछि शुल्क बढाइएको थियो ।
बैठकले सदस्यता लिने समायावधि बढाएर अगष्ट १४ सम्म गर्ने निर्णय गरेको अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए । यसअघि अगष्ट ७ सम्म समयसीमा थियो । साथै बैठकले अब अनलाइन मेम्बरसीपमा मात्र सिमित नगरि कागजी निवेदन (पेपर एप्लिकेसन) लाई समेत मान्यता दिने निर्णय गरेको छ ।
बैठकमा एनआरएनए यूके पदाधिकारीहरु कार्यकाल छंदै विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूकेको नेतृत्वमा गएकाबारे लामो छलफल भएको थियो । बैठकले ति पदाधिकारीविरुद्ध अनुशासन समितिमा कसैले उजुरी गरे प्रक्रिया बढाइने निर्णय गरेको छ ।
यसैबीच, संघले सांझ हङकङबाट आएका एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, एमाले केन्द्रिय नेताहरु डा. विजय पौडेल, डा. रमेश पौडेलसंग अन्तरक्रिया गरेको थियो । उक्त अवसरमा एनआरएनए युरोप संयोजक कुल आचार्य, डा. हेमराज शर्मा लगायतको उपस्थिति थियो ।
एनआरएनए यूके बैठकले गरयो महत्वपूर्ण निर्णय






