तराईका १२ जिल्लामा पनि एमाले अगाडि

दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २६ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९७ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ४१ तह जितेको छ ।

परिणाम आउन बाँकी रहेका ४ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ। संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी

तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५३ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।