काठमाडौं– स्थानीय तह निर्वाचनमा पहाडी जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ । दोस्रो चरणको निर्वाचन परिणाम सार्वजनिक भइरहँदा १८ स्थानमा ५० भन्दा कम मतान्तरले जितहार भएको छ भने ३० भन्दा बढी स्थानमा सय मतान्तरले निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
पूर्वको ताप्लेजुङ, सोलखुम्बु, भोजपुरदेखि सुदूरपश्चिमको बैतडी, बाजुरालगायत जिल्लामा झिनो मतान्तरले उम्मेदवारले जितहार व्यहोरेका छन् । मंगलबार सार्वजनिक भएको एउटा गाउँपालिकामा त अध्यक्षका प्रत्याशीकै बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय लिनुपरेको छ ।
झापाको कमल गाउँपालिकामा कांग्रेस-एमाले अध्यक्षका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि भएको गोलाप्रथामा एमाले उम्मेदवार विजयी हुनुभयो । अहिलेसम्म गाउँ-नगरकै प्रमुख पदमा बराबरी भएको यो नै पहिलो परिणाम हो ।
कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमाले उम्मेदवार मेनुका काफ्लेले बराबरी ८२७५ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगले गोलाप्रथाबाट निर्णय लिँदा एमाले उम्मेदवार काफ्ले विजयी हुनुभएको हो ।अछामको चौरपानीमा एक मतले निर्वाचन परिणाम जितहारमा बदलिएको छ । २० भन्दा कम मतान्तरले परिणाम घोषणा भएकामध्ये एमालेले ५ स्थान, कांग्रेस र माओवादी केन्द्रले दुई दुई स्थानको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।






