सरकार विस्तारको तयारीमा देउवा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन।

देउवाले कांग्रेस र माओवादी केन्द्रका नेताहरूलाई समावेश गरी मन्त्रिपरिषद्को तयारी गरेका हुन् ।लामो समय सम्म मन्त्रीपरिषद् बिस्तार नहुदा उनलाई अनिर्णयको बन्दी भएको आरोप लागेको थियो । कांग्रेस महामन्त्री शशांक कोइराला अमेरिकाबाट फर्केपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने मनस्थितिमा देउवा थिए । तर, कोइराला असार अन्तिम साता मात्रै स्वदेश फर्किने भएपछि देउवा बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेको श्रोतले बतायो ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज भारत भ्रमणबाट फर्केलगत्तै माओवादीबाट प्राप्त नेताहरूलाई मन्त्रालयको टुंगो लगाइने माओबादीको स्रोतले बतयो । माओवादीबाट महेन्द्रकुमार शाही, सीता नेपाली शिवकुमार मण्डल र हितराज पाण्डे मन्त्री बन्ने निश्चित जस्तै भएको छ । प्रधानमन्त्री देउवाले रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्षलाई पाँचवटा मन्त्रालय दिने तयारी गरेका छन् ।

सिटौला पक्षबाट भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् । पौडेल पक्षमा मन्त्रीका आकांक्षी धेरै रहेकाले कसलाई पठाउने भन्नेमा उनी द्विविधामा परेका छन् । रामशरण महत, बलबहादुर केसीले आफैं मन्त्री बन्ने इच्छा देखाएका छन् । तर, महत र केसीको गुटलाई मन्त्री दिने पक्षमा पौडेल छैनन् ।

आफ्नो पक्षलाई प्राप्त हुने चारवटा कोटामा पौडेलले महेश आचार्यका साथै महिलाबाट सरिता प्रसाई कमला पन्त, जनजातिबाट धनराज गुरुङ र मधेसीबाट रामकृष्ण यादवलाई मन्त्री बनाउने स्रोतले बतायो । खुमबहादुर खड्का समूहबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने निश्चित जस्तै रहेको बताइन्छ । सप्तरीका सुरेन्द्र यादव पनि मन्त्री बन्ने भएका छन।