एनआरएनए यूकेका पदाधिकारीहरु बिना राजिनामा मञ्चको नेतृत्वमा

लन्डन । एनआरएनए यूकेका पदाधिकारीहरु संस्थाको विधान विपरित एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूके नेतृत्वमा पुगेका छन् ।IMG_1701
गत आइतबार लन्डनमा सम्पन्न प्रवासी नेपाली मञ्च यूकेको चौंथो अधिवेशनमार्फत बिना राजिनामा मञ्चको नेतृत्व सम्हाल्न पुग्नेहरुमा एनआरएनए यूकेका उपाध्यक्ष दासु पाण्डे, महासचिव विजय विक्रम लिंग्देन, सचिव कृष्ण तिवारी, महिला संयोजक सुशिला राई र युवा संयोजक हरि आचार्य छन् । पाण्डे, लिंग्देन, तिवारी, राई र आचार्य क्रमशः सचिव, महासचिव, तिवारी सदस्य, राई सदस्य र आचार्य सदस्य छन् ।
एनआरएनएको केन्द्रिय विधानले कुनै राजनीतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण संघमा पेश गर्नुपर्ने व्यवस्था छ । निर्वाचन भएपछि पनि नियमावलीमा उल्लेखित पदहरु ग्रहण गरेको प्रमाणित भएमा अनुशासन समितिको सिफारिसमा निजलाई पदमुक्त हुने व्यवस्था छ ।
एनआरएनए यूके अध्यक्ष मूछेत्र गुरुगंले आफुलाई कुनै पनि पदाधिकारीले राजिनामा दिएको वा सोधेको थाहा नभएको बताए ।
एनआरएनए विधान संशोधन सुझाव समितिका संयोजक डा. हेमराज शर्माका अनुसार, यो गलत अभ्यास हो । ति पदाधिकारीले नैतिक रुपमा राजिनामा दिनुपर्छ । ‘संघको आचार संहिताले आइसीसी र एनसीसीका कुनै पनि सदस्यहरुले आफ्नो कार्यकाल भरि राजनीतिक संगठनमा संलग्न हुन निषेध गरेको छ’, शर्माले भने । शर्माले संघको विधान कार्यान्वयन पक्ष फितलो भएकाले यस्तो प्रवृत्ति दोहोरिरहेको बताए ।
मञ्चमा महासचिव निर्वाचित लिंग्देनले आफुले एनआरएनए यूकेमा राजिनामा नदिएको स्वीकार गर्दै यसबारे साथीहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।