चीनले विश्वविद्यालयमा पश्चिमी मूल्य नपढाउने

चीनको शिक्षामन्त्री युआन गुइरेनले ‘‘पश्चिमी मूल्य’’ प्रवर्धन गर्ने पाठ्यपुस्तकमाथि प्रतिबन्ध लगाउने दृढता व्यक्त गर्नुभएको जानकारी सिन्ह्वा समाचार संस्थाले दिएको छ । यसले चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनमा त्यहाँ वैचारिक कडापनाको पछिल्लो सङ्केत दिएको बताइएको छ ।
सिन्ह्वाले दिएको समाचारमा मन्त्री युआन गुइरिनले चिनियाँ कक्षामा पश्चिमी मूल्य प्रवर्धन गर्ने पुस्तक कहिल्यै नदेखिने बताउनुभयो भनी उल्लेख गरिएको छ । उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका नेतृत्वको मानहानि गर्ने टिप्पणी तथा समाजवादमा दाग लगाउने कुरा कलेजका कक्षाकोठामा कहिल्यै नदेखिने उहाँले बताउनुभयो ।
चीनका विश्वविद्यालयलाई सत्ताधारी कम्युनिस्ट पार्टीले सञ्चालन गर्छ । पार्टीले नै इतिहास तथा अन्य विषयमा छलफलमा नियन्त्रण गर्छ । बहुदलीय निर्वाचन तथा शक्ति पृथक्कीकरण जस्ता अवधारणामा विश्वव्यापी आकर्षण तथा प्रयोग भए पनि त्यसलाई पार्टीले पश्चिमी अवधारणाको रूपमा लिएको छ ।
बेलायतको पूर्व उपनिवेश हङकङमा थप प्रजातन्त्रका लागि विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनका लागि बेइजिङ तथा हङकङका अधिकारीहरूले विदेशी शक्तिमाथि आरोप लगाएका छन् । चीनमा सन् २०१२ मा राष्ट्रपति सीले पार्टीलाई नियन्त्रणमा लिनुभएपछि शैक्षिक व्यवस्थामा नियन्त्रण हुनथालेको र स्पष्टवक्ता निकै प्राध्यापकले बर्खास्त वा कारावास प्राप्त गरेको बताइन्छ ।
पेकिङ विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक सिया यलियाङलाई सन् २०१३ मा बर्खास्त गरिएको थियो । उहाँले १३ वर्षको नोकरी अवधिमा निरन्तर रूपमा राजनीतिक परिवर्तनका लागि वकालत गर्नुभएको बताइएको छ । सुधारवादी निवेदन चार्टर ०८ मा सियाले पनि हस्ताक्षर गर्नुभएको थियो । उक्त निवेदनका लेखक लियु सियाबोले नोबेल शान्ति पुरस्कार प्राप्त गरे पनि उहाँ हाल कारागारमा हुनुहुन्छ ।
विश्वविद्यालयले उहाँले राम्रोसँग पढाउन नसकेको भनी उहाँलाई बर्खास्त गरेको बताएको छ भने उहाँ गत वर्ष अमेरिकामा बसाइ सर्नुभयो । राष्ट्रपति सीले अधिकारीहरूलाई विश्वविद्यालयमा पार्टीको नेतृत्व बढाउन, वैचारिक कार्यलाई बलियो बनाउन तथा सुधार्न आग्रह गरेपछि मन्त्रीको यो भनाइ आएको हो ।
उहाँले आफूहरूले शिक्षकलाई कक्षाकोठामा गुनासो गर्न तथा विद्यार्थीमा नकारात्मक भावना हस्तान्तरण गर्न कहिल्यै नदिने बताउनुभयो भनी सिन्ह्वाले उल्लेख गरेको छ । उहाँले चीनको राजनीतिक प्रणालीप्रति समर्थनको सामूहिक अभिव्यक्ति प्रयोग गर्दै शिक्षकले पनि राजनीतिक, कानुनी तथा नैतिकताका तल्लो सीमा पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रपति सीका भाषणहरू शैक्षिक सामग्रीको रूपमा आउनुपर्ने, त्यसलाई कक्षा कोठामा लैजाउनुपर्ने र विद्यार्थीको मस्तिष्कमा पसाउनुपर्ने बताउनुभयो । राष्ट्रपति सीका भाषणहरू हाल पुस्तकको रूपमा औपचारिक रूपमा प्रकाशन भएका छन् ।
चीनले आर्थिक वृद्धि प्राप्त गरेपछि उच्च शिक्षा प्रणाली बहृत् रूपमा विस्तार गरेको छ । गत दशकको तुलनामा हाल विश्वविद्यालय तथा कलेजको सङ्ख्या दोब्बर भएको छ ।
यसो भए पनि मुलुकका राजनीतिक तथा व्यापारिक सम्भ्रान्त बर्गका छोराछोरी अमेरिका तथा युरोपमा अध्ययन गर्न मनपराउँछन् । राष्ट्रपति सीकी आफ्नै छोरी पनि सन् २०१० देखि हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्छिन् ।
सन् १९८९ मा तियानमेन चोकमा प्रदर्शन गर्ने प्रायः विद्यार्थी थिए र उनीहरू बेइजिङ विश्वविद्यालयबाट आएका थिए । उनीहरूले शिक्षामा लगानी बढाउन र प्रेसलाई स्वतन्त्र बनाउन माग गरेका थिए । यी दुबै कुरा हाल सरकारको नियन्त्रणमा रहेका छन् ।
चीनको सामाजिक आमसञ्चार सञ्जालले मन्त्री युआनको विचार ‘‘मतपरिवर्तन’’का लागि भएको उल्लेख गरिएको छ । चीनमा कुनै समयमा शिक्षक तथा वौद्धिक व्यक्तिलाई क्रान्तिका शत्रु भनी सडकमा हिडाइन्थ्यो ।
माओ जेदोङको सांस्कृतिक क्रान्तिका समयमा चीनका प्रायः सबै विद्यालय बन्द भएका थिए । साइना वेइबोमा एक प्रयोगकर्ताले अन्त्यमा कक्षामा आफूलाई जगाउने कुनै पनि कुरा नहुने र आफूले दिनभर कक्षामा सुत्न पाउने बताएका छन् । सांस्कृतिक क्रान्तिको समयमा कम्युनिस्ट शिक्षा सबैभन्दा महत्वपूर्ण पाठ मानिन्थ्यो र मन्त्री युआनसहित चीनका धेरै नेताले आफ्ना उच्च शिक्षा रोक्नुपरेको थियो ।
चीनको एक प्रान्तले गत महिना विश्वविद्यालयको कक्षाकोठामा सीसीटीभी जडान गर्ने योजना घोषणा गरेको थियो । त्यसको वकिलहरूले विरोध जनाएका थिएर उनीहरूले यसले शैक्षिक स्वतन्त्रता अझै कम हुने बताएका थिए । अधिकारीहरूले विगतमा स्पष्ट बोल्ने प्राज्ञहरूको कक्षाकोठामा भिडियो उपकरण जडान गरिदिएका थिए । यसको उदाहरणको रूपमा उइघुरका अर्थशास्त्रका प्राध्यापक इलहाम तोहती पर्नुभएको छ । उहाँले पृथकतावादका लागि सेप्टेम्बरमा आजीवन कारावासको सजायँ प्राप्त गर्नुभएको छ ।
कक्षाकोठाका क्यामराबाट प्राप्त प्रमाण प्राज्ञलाई दोषी प्रमाणित गर्न प्रयोग गरिएको छ । यसलाई मानवअधिकारवादी समूहहरूले भत्र्सना गरेका छन् ।