काठमाडौं– बुधबार भएको दोस्रो चरणको स्थानीय तहको चुनावको मतगणना सुरु भएको छ ।
बुधबार रातिदेखि नै कतिपय ठाउँमा मतगणना सुरु भए पनि बाँकी ठाउँमा बिहीबार बिहानदेखि सुरु भएको छ । केही ठाँउमा वडा तहका मतगणना सकिएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार प्रदेश नम्बर १ र ५ मा एमालेले प्रारम्भिक अग्रता लिएको छ भने प्रदेश नम्बर ७ मा कांग्रेसले अग्रता लिएको छ ।
यस पटक आयोगले प्रथम चरणको निर्वाचनको अनुभवको आधारमा यसपटक मतगणना छिटो सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी दिएको छ । छिटो मतदान सम्पन्न गर्न आवश्यक जनशक्तिको व्यवस्थापन गर्न, भौतिक सुविधा र सुरक्षा व्यवस्था मिलाउन निर्वाचन अधिकृत र स्थानीय प्रशासनलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कम्तीमा ७० दशमलव ५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् भने ति मध्येबाट १५ हजार ३८ जना जनप्रतिनीधि निर्वाचित हुनेछन् । स्थानीय तह दोस्रो चरण अन्र्तगत असार १४ मा ३५ जिल्लाका ३३४ स्थानीय तहमा चुनाव भएको हो । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिका छन् ।
दोस्रो चरणमा प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव भएको छ जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल छन् भने ३४५९ मतदान केन्द्र छन् । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता रहेका थिए ।
प्रदेश नम्वर ५ मा रहेका १२ जिल्ला छन् । जसमा नवलपरासी र रुकुमका केही भाग पनि पर्छन् । यहाँ १०९ स्थानीय तह अन्तर्गत उपमहानगरपालिका ४, नगरपालिका ३२ र गाउँपालिका ७३ छन् । यो प्रदेशमा १६१२ मतदान स्थाल र ३१२५ मतदान केन्द्र कायम गरिएको थियो । प्रदेश नम्बर ५ बाट २४ लाख ५४ हजार चार सय ८८ मतदाता चुनावमा सहभागि बनेका छन् ।






