काठमाडौं–संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिबजी यादबले यो निर्वाचनले सहमतिको बाताबरण बनाएको दाबी गरेका छन् ।
यादवले निर्वाचनले राजनीतिमा सहमतिको लागि वातावरण सहज बनाउने र मधेशको समस्या समाधानमा सहयोग र्पुयाउने विश्वास दिलाए । उनले आफ्नो पार्टी निर्वाचनमा भाग लिँदा राजपाका केही नेताहरुले गैरराजनैतिक अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने,‘मनिष सुमनजीले आरोप लगाएको कुरा बाहिर आएको छ, तर यो गैर–राजनीतिक भाषा हो, यसले उहाँकै मुखमा छिट्टा पारेको छ ।’
राजधानीमा आयोजित एक कार्यक्रममा यादवले निर्वाचनमा राप्रपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग कार्यगत तालमेल हुन नसक्ने बताए ।
कार्यक्रममा राजपा नेपालका शीर्ष नेता रामनरेशराय यादवले राजपा नेपाल गठन भएपछि ठूला राजनीतिक दलहरुको जग हल्लिएर राजपालाइ चुनावमा जान रोकेको आरोप लगाए ।
उनले भने,‘राजपा नेपाल गठन भैरहँदाखेरि नै हामीविरुद्ध तानाबाना बुन्ने काम भएका छन, उनीहरुको जग हल्लिएको थियो, त्यही भएर चुनावमा हामीलाई जानबाट रोक्नको लागि बेरियर हाल्ने काम भएको छ ।’
उनले काठमाडौंमा बसेर कसैले यति भोट ल्याउँछौं वा उति भोट ल्याउँछौं भनेर कसैलेपनि ठूला कुरा गर्न नहुने भन्दै चुनावमा आफूहरुलाई जान दिएको भए सबै हिसाबकिताब हुनेथियो भन्दै चूनौति दिए ।






