शिब भण्डारी
लण्डन । नेपालमा स्थायी सरकार बनेपछि वैदेशिक लगानी भित्र्याउने पहल सुरु भएको छ । सरकारका मन्त्री र उच्च अधिकारीले विभिन्न मुलुकमा पुगेर नेपालमा लगानीको वातावरण बनेको भन्दै अवसर सदुपयोग गर्न अपिल गरिरहेका छन् ।
मंगलबार लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन–नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)को आयोजनामा दूतावासमा भएको व्यापार र लगानीसम्बन्धि विकास सम्मेलन परराष्ट्र सचिव शंकरदास वैरागीले भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको बताए।
उनले नेपालमा व्यापार र लगानी अभिवृद्धि गर्न राजनीतिक सहमति बनीसकेको बताउँदै ब्रिटिश व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान पनि गरे। 
कार्यक्रममा बोल्दै लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा जलविद्युत, साना तथा मझौला व्यवसाय, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताए। त्यस्तै अर्का वक्ता लर्ड शेखले नेपालमा जलविदयुत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश कंपनीहरुले लगानी गरुन् भन्ने आफुले चाहेको र त्यसकालागि ब्रिटिश सरकारले सघाउनुपर्ने सुझाव दिए।
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदीले नयाँ संविधान पछि नेपालमा स्थिर सरकार बनेकाले लगानीका लागि यो उपयुक्त समय भएको बताएका थिए। त्यस्तै नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले बेलायत युरोपेली संघबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने जनाए। उनले नेपालसंग दोहोरो कर हटाउने सन्धि गर्नेबारे गृहकार्य भैरहेको जानकारी पनि दिए।
कार्यक्रममा बेलायतको स्वान्सी विश्वविद्यालयबाट पिएचडी गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको संभावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्याशनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुराइरहेको सहयोगबारे जानकारी दिएकी थिइन्।
यसैगरी नेपालमा वैदेशिक लगानीका संभावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेलले नेपाल विदेशी लगानीका लागि खुला रहेकेा बताए। उनले विकासशील मुलुक नेपालमा अझै पनि कैयौं चुनौतीहरु रहेको बताउँदै ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर सँधै तयार रहेको बताए।
कार्यक्रमको अन्त्यमा कलाकारहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए।






