संविधान संशोधन होइन, खारेज गर्नुपर्छ : मोहन बैद्य

काठमाडौ– मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले बर्तमान संविधान नै खारेज गरेर अर्को संविधान बनाउनु पर्ने बताएको छ ।

सरकारले राजपालाई सन्तुष्ट पार्ने नाममा २ नं. प्रदेशको स्थानीय निर्वाचन तीन महिना सार्ने तथा दोस्रो चरणको निर्वाचनका लागि हुने उमेद्वारी मनोनयनको समयसमेत दुई दिनपछि धकेलेर नौटंकी मञ्चन गरेको आरोप पनि लगाएको छ ।

अध्यक्ष मोहन बैद्यले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारको अस्थिर चिन्तन एवम् कार्यशैलीप्रति आम जनतामा तीव्र आक्रोश पैदा भएको उललेख गरेका छन् ।

अध्यक्ष बैद्यले उत्पीडित मधेसी जनताका हक, हित तथा अधिकारको प्राप्ति तथा तिनलाई स्थापित गर्न आफ्नो पार्टी संवेदनशील तथा प्रतिबद्ध रहेको भन्दै उत्पीडित वर्ग र जनसमुदायका साथै मधेसी जनताका हक, अधिकार प्राप्त गर्न संविधानको संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन् । उनले वर्तमान संविधान खारेज गरेर वर्गीय मुक्ति तथा पहिचानसहितको संघीयतामा आधारित जनगणतान्त्रिक संविधानको निर्माण गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष बैद्यले संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि प्रभावकारी संघर्ष तथा जनआन्दोलनको तयारी गर्न आम जनसमुदायमा विशेष अपील समेत गरेका छन् ।