लण्डन । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाएको छ।
कन्जर्भेटिभ पार्टीकी नेतृ तथा प्रधानमन्त्री टेरेसा मेले नयाँ सरकार गठनको तयारी थालेकी छिन् । डेमोक्र्याटिक युनियनिस्ट पार्टी (डियुपी ) सँग गठबन्धन गरेर मेले सरकार गठनको तयारी गरेको बताइएको छ । नर्दन आयरल्याण्ड आधार रहेको डियुपीले १० सिट जितेको छ । ३ सय १८ सिट जितेको कन्जर्भेटिभलाई बहुमत पुर्याउन ८ सिट कम परेकोमा डियुपीसंग गठबन्धन गर्न लागेको बुझिएको छ । प्रधानमन्त्री मे शुक्रबार दिउँसो बकिङहम प्यालेसमा महारानीलाई भेटेर नयाँ सरकार गठनको लागि अनुमति लिने तयारीमा छिन ।
कन्जर्भेटिभ र डियुपी गठबन्धनबारे आधिकारिक जानकारी आउन भने बाँकी छ । लेबर नेता जेरेमी कोर्बिनले भने निर्वाचन नतिजालाई सम्मान गर्दै प्रधानमन्त्री मेले राजिनामा गर्नुपर्ने बताएका छन् ।






