कामठाडौ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपरान्ह पदभार ग्रहण गर्नु अघि सहिदपार्क पुगेर सहिदहरुप्रति सम्मान प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवा सपथ ग्रहणपछि लैनचौरस्थित सहिद पार्क पुगेर सहिदहरुप्रति सम्मान व्यक्त गरेर पार्टी कार्यलय सानेपा पुगेका थिए ।
उनले सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालय परिसरमा रहेको काँग्रेस संस्थापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए । त्यसपछि सिंहदरवार पुगेर पदभार ग्रहण गरेका देउवाले त्यस क्रममा राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर र अन्तर प्रदेश समन्वयका लागि समन्वय परिषदको सचिवालय गठन गर्ने निर्णय गरेका छन् ।
सात वटै प्रदेशको समन्वयका लागि गठन गरिएको परिषद प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा एक महाशाखाको रुपमा रहने व्यवस्था गरिएको छ । मुख्य सचिव डा. सोमलाल सुदेवीले संविधानको धारा २ सय ३४ बमोजिम गठन गर्ने भनिएको अन्तर प्रदेश समन्वय परिषद गठन गर्ने प्रस्ताव नवनिर्वाचित प्रधानमन्त्री देउवाले स्विकृत गरेको जानकारी दिए ।
पदभार ग्रहण गर्नु अघि नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मुख्य सचिव डा. सोमलाल सुवेदी, नेपाल सरकार सचिवहरु तथा उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भव्य स्वागत गरेका थिए ।






