काठमाडौं– सरकारको नेतृत्व गरेको झण्डै दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
केन्द्रीय समिति बैठकका कारण ढिला भएको सरकार विस्तार मंगलबार हुने भएको हो । मंगलबार पनि सरकारले पूर्णता भने पाउने छैन ।
कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खडका पक्षबाट एकरएक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ । पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चामा छ ।
सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ ।
प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ–धौ परेको छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।
माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी सोमबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका छन् ।






