काठमाडौं– एनसेलले पुँजीगत लाभकर वापत आन्तरिक राजस्व विभागमा १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ बुझाएको छ।
एनसेलको बचाउमा सक्रिय रुपमा लागेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले हिरासतमा लिएलगत्तै एनसेलले रकम तिरेको हो ।
यसअघि गत वर्ष वैशाखमा नै ठूला करदाता कार्यालयका अधिकारीहरुले कर विवरणसहित अग्रिम कर कट्टिवापत कम्तिमा १५ प्रतिशतको दरले एनसेलबाट २३ अर्ब रुपैयाँ हाराहारी राजस्व प्राप्त हुने अपेक्षा गरेका थिए।
तर एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ मात्रै कर बुझायो। यसका लागि टेलियासोनेरा एनसेलमा प्रवेश गर्दा ७४ अर्ब रुपैयाँ खर्च भएको र अहिले टेलियालाई ६६ अर्ब रुपैयाँको मात्रै लाभ भएको भन्दै कर विवरण बुझाइएको थियो।
अहिले भने एनसेलले यही खर्च एक अर्ब ८८ करोड रुपैयाँ देखाएर त्यस वापत १५ प्रतिशतको कर बुझाएको हो।
ठुला करदाता कार्यालयले २५ प्रतिशत लाभकर पाउनु पर्ने भनी गरेको हिसाब अनुसार अझै एनसेलबाट १० प्रतिशत कर लिन बाँकी रहेको छ।






