चितवन, १८ जेठ । भरतपुर महानगरपालिकाको ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको छ ।
निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दलका प्रमुख, उम्मेदवार, उनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको रोहवरमा सिल गरी राखिएको च्यातिएको मतपत्र गन्दा ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको हो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नं १९ मा कुल दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मतगणना भइसकेको, ९९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्णरुपमा नोक्सान भएको बताउनुभयो ।
उहाँले यसको प्रतिवेदन आजै निर्वाचन आयोगमा पठाउने पनि जानकारी दिनुभयो ।
च्यातिएको मतपत्र गणनापछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले धेरै मतपत्र च्यातिएकाले पुनःमतदान हुनुपर्ने जनाएको भए पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सञ्चालन गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले धेरै सङ्ख्यामा मतपत्र च्यातिएकाले पुनःमतदानको विकल्प नरहेको बताउनुभयो ।






