नवनिर्वाचित गाउँपालिका प्रमुखमाथि आक्रमण

काठमाडौं– विजय जुलुसबाट फर्किदै गरेका धादिङको ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनासहित कार्यकर्तामाथि आक्रमण हुँदा उनीसहित ७ जना घाइते भएका छन् । जनप्रतिनिधिहरु खुसीयालीमा विजयजुलुस गरेर घर फर्कने क्रममा करिब ५० जना एमाले कार्यकर्ताहरुले घेरेर आक्रमण गरेका कांग्रेस कार्यकर्ताहरुले बताएका छन् ।

आक्रमणकारीले वियरका बोतललगायत घरेलु हतियार प्रहार गरेको घाइतेहरुले जनाएका छन् । ज्वालामुखी ३ मैदीमा भएको आक्रमणमा घाइते भएका नरेन्द्र भट्टको अवस्था चिन्ताजनक छ । उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ । कांग्रेस महासमिति सदस्य यमनाथ दनैको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख तिमिल्सिनाको टाउकोमा पाँच टाँका लगाइएको छ । प्रमुखसँगै रहेकी श्रीमती पनि आक्रमणमा घाइते भएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।