काठमाडौं– काठमाडौं महानगरपालिकामा नगर प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य १८ हजार ३८० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले १२ हजार ७६७ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले सात हजार ३३६ मत र साझा पार्टीका किशोर थापाले पाँच हजार ५०४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले १६ हजार ५९३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले १० हजार ५१४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । साझा पार्टीकी उपप्रमुख निरुपमा यादवले तीन हजार ८५ मत प्राप्त गर्नुभएको छ । आयोगका अनुसार काठमाडौं महानगरपालिकामा हालसम्म ५६ हजार ४३९ मतगणना भएको छ ।
ललितपुर महानगरमा काँग्रेसको अग्रता कायमै
ललितपुर महानगरपालिकाको साँझ ७ बजेसम्मको मतगणनाअनुसार महानगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारले १५ हजारभन्दा बढी मतसहित अग्रता कायमै राख्नुभएको छ ।
महानगरको १६ वटा वडाको मतगणना सकिँदा प्रमुखमा काँग्रेसका चिरीबाबु महर्जनले १५ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा ९एमाले०का हरिकृष्ण ब्यञ्जनकारले १४ हजार ८६ मतसहित पछ्याइरहनुभएको छ ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसका गीता सत्यालले १२ हजार २७४ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका शोभा शाक्यले १० हजार ५३० मत प्राप्त गर्नुभएको छ । अहिले महानगरको वडा नं १६ र १८ को मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
पोखराको स्थगित मतगणना सुरु हुन सकेन
पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १७ को मतगणनाका क्रममा मतपत्रमा प्रयोग भएको स्वस्तिक छापको आकार साविकको भन्दा फराकिलो देखिएपछि दिउँसोदेखि स्थगित मतगणना अझै सुरु हुन सकेको छैन ।
मतगणनाका क्रममा सूर्यमा छाप लगाइएका केही मतपत्रमा साविकको भन्दा फराकिलो आकारको स्वस्तिक छाप प्रयोग भएको पाइएपछि त्यसको छानबिनको माग गर्दै नेपाली काँग्रेससहितका दलका प्रतिनिधि बाहिरिएपछि मतगणना कार्य स्थगित गरिएको थियो ।
मतगणना स्थगित भएपछि निर्वाचन कार्यालयले सर्वदलीय बैठक राखेपनि हालसम्म कुनै सहमति जुट्न नसकेको नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।
मतपत्रमा प्रयोग भएको स्वस्तिक छाप सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई विश्वस्त पार्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिकामा एमाले नै अगाडि
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली १६४४७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
माओवादी केन्द्र रेणु दाहाल — १५९०० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री तिमिल्सिनाले १३२४ मत पाउनुभएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका पार्वती शाह — १८३०३ मत, एमालेका दिव्य आचार्य — १४३०२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका रिना गुरुङ — १४४४ मतसहित प्रतिस्पर्धामा हुनुहुन्छ ।






