साउथ ईस्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले नव नियुक्त सल्लाहकार हरुको सम्मान गरेको छ । गत आइतवार स्थानिय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई अध्यक्ष रोम नाथ पाण्डे तथा कार्यसमिति सदस्य रेखा खरेलले खादा ओढाएर सम्मान गरेका थिए ।
रोम नाथ पाण्डेको अध्यक्ष्यतामा नया कार्य समितिको गठन पश्चात खडा गरिएको सल्लाहकार समितिलाई समावेशी बनाइएको छ । उपरोक्त कार्यक्रममा भएको सामाजिक व्यक्तित्वहरुको उपस्थितिले समाजमा नया उत्साह थपिएको सहभागीहरुले बताएका छन ।
उपस्थितहरुको चाहनालाइ मध्यनजर गर्दै औपचारिक कार्यक्रमलाई छोटो गरी संचालन गरिएको जानकारी कार्यक्रम पश्चात सचिव टी एन रिजालले दिएका छन । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रोम नाथ पाण्डेले गरेका थिए । सचिव टी एन रिजाल ले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष टंक कंडेलले स्वागत मतब्या दिएका थिए भने कोषाध्यक्ष कृष्ण खरेलले चालु आय व्यय बिवरण पेश गरेका थिए ।
कार्यक्रममा सल्लाहकारहरुको तर्फ बाट बोल्दै स्थानीय ब्यावसायी एल एन पाण्डेले सामुदायिक रुपमा समाजको उत्तरदावित्वको चर्चा गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष सुरज केसीले समाज द्वारा संचालित नेपाली भाषा कक्षाको महत्वलाई चर्चा गर्दै यसलाई अझै प्रभावकारी बनाउदै लैजानु पर्ने बताएका थिए । त्यस्तै अन्य बक्ताहरुमा सल्लाहकारहरु नरेन्द्र कंडेल, टेक जिसी, दिनेश घिमिरे लगायतले आ आफ्ना बिचारहरु राखेका थिए ।
नेपाली भाषा कक्षाका एक स्वयंसेवी शिक्षक उदय लम्सालले कक्षा संचालनका अनुभव हरु सुनाएका थिए। भाषा कक्षाकै स्वयंसेविका मंजु खरेलले अर्का स्वयंसेवक शिक्षक गोकुल भण्डारीको कबिता वाचन गरेकी थिइन । यसैगरी स्थानिय सामाजिक गतिविधिहरुको बारेमा सबै सहभागी हरूले आपसी छलफल गरेका थिए ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष रोम नाथ पाण्डेले सल्लाहकार तथा समाजका सदस्यहरुको सुझाव अनुरुप छिट्टै समाजको भावी कार्यक्रमहरुको घोषणा गरिने बताएका थिए । कार्यक्रममा खानपानको प्रायोजन माउण्टेन भिउ रेस्टुरेण्टले गरेको थियो ।
व्यावसायिक तथा बौद्दिक नेपाली व्यक्तित्वहरुको बाक्लो बसाई रहेको चार्ल्टनमा चार्ल्टन नेपाली समाजका प्रशंसा योग्य कार्यहरुको चर्चा भने जताकतै हुने गरेको छ । लर्न नेपाली प्रोग्रामको शुरुवात संगै प्रसिद्दि कमाएको नेपाली भाषा कक्षाको बेलायतका अन्य क्षेत्र र समुदायमा पनि अनुसरण गरिएको छ ।







