लन्डन– नेपाल पत्रकार महासंघ बेलायतले यही मे २१ तारिख गर्न लागेको ‘नेप्लिज प्रेस नाइट’ मा नेपाली समुदायको उल्लेख्य सहभागिता हुने भएको छ ।
शाखाले हालसम्म ३५ भन्दा बढि टेबुल बुक भइसकेको र ५ हजार पाउण्ड माथिको प्रतिवद्धता आइसकेको जनाएको छ । पत्रकारहरुलाई अप्ठेरो पर्दा सहयोगका लागि आपतकालिन कोष स्थापना गर्ने उद्देश्यले च्यारिटी नाइट गर्न लागिएको हो ।
अल्डरसटस्थित एम्पायर हलमा सांझ ५ बजेदेखि हुने उक्त कार्यक्रममा नेपाली राजदूतसहित विशिष्ठ अतिथीहरु सहभागी हुने अपेक्षा छ । कार्यक्रमका लागि चर्चित लोक गायक खड्ग गर्बुजा मे २० तारिख लन्डन आइपुग्ने कार्यक्रम छ । च्यारिटी नाइटमा गायन, नाचसहित सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ ।
कार्यक्रममा करिब ४ सय जनाको सहभागिता र ज्ञान बर्दक हुने बताउदै कार्यक्रममा नेपाली मूलका बेलायती संसदीय चुनावका उम्मेदवार डा. बच्चुकैलाश कैनी समेत आउने महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगीमगरले जानकारी दिएका छन् ।
अध्यक्ष खपांगीमगर र कार्यक्रम संयोजक दूत पुनले च्यारिटीमा आइदिन वा उपस्थित हुन नसके आर्थिक सहयोग गरिदिन समस्त नेपाली समुदायमा आग्रह गरेका छन् ।







