पिटरबरो,
पिटरबरो नेपाली समाजले सल्लाहकार मिना पौडेलको संयोजकत्वमा पहिलो पटक पिटरबरोमा बुद्ध जयन्ती मनाएकोछ। बुद्ध जयन्तीकै अवसर पारेर पिटरबरो गोर्खा नेप्लिज कम्युनिटीको समेत सहयोग सहभागितामा मनाएको बुद्ध जयन्तीमा पिटरबरोका नेपाली समुदायको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा सहभागीहरुलाई पिटरबरो नेपाली समाजका उपाध्यक्ष शिव भण्डारीले स्वागत गर्नु भएको थियो। बुद्धको प्रतिमामा माल्यार्पण र दिप प्रज्वलन गरेर सुरु भएको यस कार्यक्रममा बुद्धको जीवनी ज्ञान र दर्शनको समाजका सल्लाहकारहरु बिके पाण्डे, मिना पौडेल, केशब भण्डारी र जमुना माल्देनले फरक फरक पक्षबाट चर्चा गर्नु भएको थियो।
गोर्खा नेप्लिज कम्युनिटीको तर्फबाट बोल्दै शुशिला राइले बुद्ध जयन्ती मनाउने जस्तो अशल कामको थालनी भएकोमा खुशी व्यक्त गर्नु भएको थियो। साथै उहाँले आगामी दिनमा पिटरबरो टाउन स्क्वायरमा यस्तो कार्यक्रम मनाउन सके बुद्ध नेपालमा जन्मेको भन्ने प्रचार प्रसार गर्न थप सहयोग पुग्ने धारणा राख्दै पिटरबरो नेपाली समाज र गोर्खा नेप्लिज कम्युनिटीले संयुक्त पहल गर्नु पर्ने सुझाव दिनु भएको थियो।
कार्यक्रममा सामुहिकरुपमा बुद्ध भजनहरुको साथै फुलको आँखामा फुलै संसार र जहाँ छ बुद्धका दुई आँखा बोलका गीतहरु गाइएका थिए। समाजका सहकोषाध्यक्ष संगीत कोइरालाले नेपाली लोक गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो। कार्यक्रममा सल्लाहकार मीना पौडेलले आफ्नो आमाको बारेमा लेख्नु भएको किताव सार्वजनिक गर्नु साथै समाजका अग्रहरुलाई सो पुस्तक हस्तान्तरण गर्नु भएको थियो।
त्यसैगरि कार्यक्रम संचालक एबम समाजका महासचिब नृपेश उप्रेतीले बुद्ध र आमाको बारेमा लेखिएका आफ्ना रचनाहरु सुनाउनु भएको थियो। कार्यक्रमको अन्त्यमा आफ्नो मन्तब्य राख्दै गोर्खा नेप्लिज कम्युनिटीका महासचिब राम राइले बुद्ध जन्यतीको अवसरमा कार्यक्रम आयोजना गरिकोमा र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।






