काठमाडौं- नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय बितिसके पनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न नसक्दा समस्या झन् जटिल बन्दै गएको छ।
नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अध्ययनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको हो। तर, गर्भपतनले कानुनी मान्यता प्राप्त गरेपछि गर्भपतन सेवालाई आय आर्जन गर्ने माध्यमका रूपमा केही स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले लिएकै कारण सेवाग्राहीहरूले निकै सास्ती भोगिरहेको वरिष्ठ चिकित्सक डा. छत्र अमात्यको ठम्याइ छ।
डा. अमात्यले सरकारले यति गम्भीर स्वास्थ्य समस्यालाई एक्लैले अघि बढाउन सम्भव नभएकाले सहयोगी संघ–संस्थाहरूसँग सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो।






