काठमाडौं– व्यवस्थापिका संसदबाट महाअभियोग लागेपछि निलम्बित प्रधानन्यायाधीस सुशीला कार्कीले पुन: कार्यभार सम्हालेकै दिन आइतबार बेलुका राष्ट्रपति भवन शितल निवास पुगिन् ।
प्रधानन्यायाधीश कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि राष्ट्रपतिसँग छलफल हुने बताइएको थियो ।
सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आइतबारबाट आफ्नो काममा फर्केकी कार्की विदामा बस्ने चर्चा चलिरहँदा बेलुका एक्कासी शितल निवास पुगेकी थिइन् ।
कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी वैशाख २६ गते कानून दिवसको कार्यक्रमका लागि निमन्त्रणा दिएर फर्किएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
प्रधानन्यायाधीश कार्की ६५ वर्षे उमेरहदका कारण जेठ २५ गतेबाट सेवा निवृत्त हुँदैछिन् ।






