काठमाडौँ, १४ वैशाख । चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ ।
नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो ।
उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको छ, भन्नुभयो ।
गभर्नर नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्य वृद्धिदर क्रमशः १० दशमलव ३ प्रतिशत र १० दशमलव २ प्रतिशत रहेको थियो ।
उहाँले यस आवको चैत मसान्तसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट रु ६३ अर्ब ५९ करोड बचत रहेको बताउनुभयो । गभर्नरका अनुसार गत आवको सोही अवधिमा रु ४७ अर्ब ६९ करोड बचत रहेको थियो ।






