नयाँ संशोधन पनि मोर्चाले मानेन

काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै अस्वीकार गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकन लगायत माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो ।

सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरेको छ ।