प्रधानमन्त्रीलाई आयोगको यस्तो ‘अल्टिमेटम’

काठमाडौं – निर्वाचन आयोगले थप १० दिन दिँदा पनि सरकारले सहमतिका आधारमा २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै शुक्रवारभित्र केन्द्र तोक्न प्रधानमन्त्रीलाई ‘अल्टिमेटम’ दिएको छ ।

आयोगले चैत १० भित्र सबै जिल्लामा मतदान केन्द्र तोकिसक्ने कार्यतालिका बनाए पनि २ नम्बर प्रदेशमा अझै मतदान केन्द्र तोकिएका छैनन् । मधेसी मोर्चाको विरोधका कारण २ नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न थप १० दिन समय थपिएको थियो ।

तर चैत २० भित्र पनि सरकारले २ नम्बर प्रदेशमा राजनीतिक सहमतिका आधारमा केन्द्र तोक्न नसकेपछि आयोगले ‘अल्टिमेटम’ दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीवार टेलिफोन गरी शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइदिन आग्रह गरेको आयोग स्रोतले बतायो । बिहीवार नै निर्वाचन अधिकृतहरूका लागि आयोजित तालिममा प्रमुख आयुक्त यादवले सरकारलाई शुक्रवारभित्र २ नम्बर प्रदेशमा मतदान केन्द्रको टुंगो लगाइसक्न आग्रह गर्नुभएको थियो ।