लन्डन– नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा आउादो आइतबार (मार्च १९ तारिख) हुने भएको छ ।
वेम्ब्लीस्थित हिमालय क्लवमा हुनेसाधारणसभामा वेष्टमिन्ष्टर विश्वविद्यालयका पत्रकारिताका प्राध्यापक डा. दयाकिसन ठुसुले सम्बोधन गर्ने कार्यक्रम छ । उनको प्रवचनमाथि डा. नरेश राई र भगिरथ योगीले टिप्पणी गर्ने छन् । अन्तर्राष्ट्रिय सञ्चारका विज्ञ ठुसुका करिब डेढदर्जन पुस्तक प्रकाशित छन् । उनका पुस्तक नेपालमा समेत पत्रकारिताको पाठ्यक्रममा समावेश छन् ।
महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले अघिल्ला वर्षहरुमा भन्दा यसपटक पत्रकारिताका विज्ञलाई ल्याएर फरक किसिमले साधारणसभा गर्न लागिएको बताए । उनले यस्ता प्रयासले शाखाका सदस्यहरुलाई विज्ञहरुसित सम्बन्ध विस्तार गर्न र अनुभव आदान प्रदान गर्न मौका दिने विश्वास व्यक्त गरे । साधारण सभाको दोस्रो चरणमा शाखाका प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमका बारेमा छलफल गरिने बताइएको छ ।
शाखाले सबै सदस्यहरुलाई सो साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ ।






