अञ्चलपुरमा के भने ओलीले ?

काठमाडौं– नेकपा (एमाले)ले गत फागुन २१ गतेबाट सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा आइतबार सकिएको छ । भैरहवा, बुटवल र आसपासका क्षेत्रबाट भेला भएका हजार औं जनताका बीचमा पार्टी नेतृत्वले समसामयिक अवस्थामा पार्टीका धारणाहरु स्पष्ट पारेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने–
– वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब छैन, अन्तैका प्रभु रिझाउन व्यस्त छ । देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गरेको छैन ।
– मधेसका नाममा राजनीति गर्न चाहनेहरु त्यहाँका जनतालाई मराउन चाहन्छन् । त्यसरी मारिनेहरु हाम्रै भाइछोराहरु हुन्, तिनलाई बिनाकारण मराइएको छ ।
– भारतीय सीमा सुरक्षा बल नेपाल पसेर नेपालीहरुमाथि गोली हान्दा सरकार चुइक्क बोलेको छैन, थर्कमान छ । नेपालभित्र आएर नेपालीमाथि गोली हानियो । यता आफ्ना प्रहरीमाथि आक्रमण गर्नेहरुमाथि कारवाही गर्दा प्रहरी अधिकारीहरुमाथि नै कारवाही गरियो ।
– काम गर्ने हिम्मत छैन भने सरकारमा किन बस्ने ? यस देशलाई नोक्सान गर्न जडान गरिएको सरकारले देशको हित गर्न सक्दैन । जनताको यो उपस्थितिले देखाउँछ, सरकार हामी चलाउँछौँ ।
– यो सरकार नेपाल र नेपालीको होइन । विधिवत् रुपमा त संसदबाट बनाए जस्तो देखिन्छ । तर, चारतिर फर्केकाहरुलाई एउटै ठाउँमा ल्याएर टाउको जुधाएर मित लगाउने काम अर्कैले गरिदिएको छ ।
– आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने छ । तर, सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्यायो । त्यसले सबभन्दा पहिला पाँच नम्बर प्रदेशलाई टोक्न खोज्यो, त्यसपछि बाँकीलाई पनि यसरी नै टोक्ने योजना छ । पाँच नम्बरका जनताले त्यसलाई अस्वीकार गरिदिएका छन् । मधेसी मोर्चाका नाममा दुई चार जना सडकमा उफ्रिए र ट्याउँट्याँउ गरे भने सरकारले देख्न तर तपाईंहरुको हजारौँ, लाखौँको जुलुश देख्दैन ।
– पहाडी र मधेसी भनेर झगडा गर्ने, जातजातका नाममा झगडा गराउने काम भइरहेको छ । यस्तो तमासा देखाउन खोजेको छ । हामी त्यो सफल हुन दिँदैनौँ ।
– मोर्चाका नेताहरु एमालेलाई तराई पस्न नदिने भन्छन्, नयाँ शक्ति नामक भ्रष्ट बुद्धिजीवीहरुको संस्थाले पनि एमालेमुक्त नेपाल भनेर ट्वीट गरेछ । कसको दाना खाएर उनीहरु यस्तो गर्दैछन् ? नेपाल देशव्यापी छ, नेपालीव्यापी छ । हामीलाई कुनै ठाउँमा जानबाट कसैले रोक्न सक्दैन ।
– संविधान संशोधनको प्रस्ताव देशहितका विरुद्धमा छ, जनताका विरुद्धमा छ । सर्वोच्च अदालतले पनि असंवैधानिजक छ भनेको छ । तर, सरकार यो नेपाली र नेपालीका कुरा सुन्दैन र अरुकै कुरा सुन्छ । म स्पष्ट पार्न चाहन्छु, एमालेले यो प्रस्ताव कुनै हालतमा पारित हुन दिँदैन । किनभने, यो नेपाललाई कमजोर पार्ने योजनाको पहिलो खुड्किलो हो ।
– उहिले उहिले रानीको जन्म दिनमा केटाकेटी जम्मा पारेर चकलेट बाँडिन्थ्यो । नागरिकता त्यसरी सीमामा अरु देशका मानिस जम्मा गरेर नागरिकता बाँड्न सकिन्न । १३ जना बुहारी नेपालको सांसद हुनुहुन्छ, एक जना बुहारी त मन्त्री हुनुहुन्छ, कांग्रेसको ठूलै नेता हुनुहुन्छ, ज्वाइँहरुको त कुरै नगरौँ । मन्त्री हुन पाँच वर्ष पनि पुग्न नपर्ने प्रस्ताव मानिन्न । नेपाली चेलीले भारतमा विहा गरेमा सात वर्ष कुर्नुपर्छ, यहाँ चाहिँ आएकै दिन नागरिकता पाइन्छ ।
– जनसंख्याका आधारमा प्रतिनिधित्व भएन भनिन्छ । म झापा क्षेत्र नम्बर ७ को प्रतिनिधि हुँ । हुम्लाभन्दा झापा सात गुणा सानो छ । तर, हुम्लाबाट एकजना प्रतिनिधि छानिन्छ, झापाबाट सात जना हुन्छ । यो जनसंख्याकै आधारमा नभएर के हो त ? धनुषा र महोत्तरीमा छ जना प्रतिनिधि कसरी छानिन्छन् त ?
– संविधान विभेद छैन, बरु आरक्षण छ । महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण छ । अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र हो । के पाइएन, किन पाइएन ? उनीहरुसँग कुनै जवाफ छैन ।
– एमाले बोकेका नीतिहरु मधेसका जनताले थाहा पाए भने आफ्नो सटर बन्द हुन्छन् भनेर मोर्चाका नेताहरु छट्पटिएका छन् । उनीहरुलाई देशको झन्डा र नाम नै मन पर्दैन । विगतको संविधानसभामा तिनीहरुले यो कुरा उठाएका थिए । अहिले जनताले दण्डित गरेका छन्, हराइदिएका छन् ।
– अब सरकारी कार्यालयमा मात्र होइन, नेपाली झन्डा घरघरमा फहराउनुपर्छ । अब राष्ट्रियताको जागरण चाहिएको छ । हाम्रा कार्यालयमा मात्र होइन, जताततै राष्ट्रिय झण्डा हुन्छन् ।
– मनमोहन अधिकारीको पालामा सुरु गरिएको सामाजिक सुरक्षा भत्ता अहिले हामीले मासिक दुई हजार पुर्‍याउँदा कतिपयलाई खपिनसक्नु भएको छ । दलितका छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । यसबाट उनीहरुलाई छटपटी भएको छ ।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेव गौतमले वर्तमान सरकारले मुलुकलाई विभाजनतर्फ लैजान खोजे पनि त्यो कुनै हातमा पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले संविधान असफल पार्न खोजिएको छ । समयमा संविधान कार्यान्वयन हुन नदिने योजना छ । ठीकै छ, त्यो सफल पनि होला । तर, यो देश असफल हुन सक्दैन, हुन दिइँदैन । संविधानको इतिहास साढे छ दशकको छ तर यो देशको इतिहास चार हजार बर्षको छ ।’

सांसद आदित्यानारायण कसौधनको सभापतित्व र तुलसी चौधरीको सञ्चालनमा सम्पन्न सभामा पोलिट्ब्युरो सदस्य दलबहादुर राना, लोकतान्त्रिक मधेसी संगठनका अध्यक्ष रघुवीर महासेठले पनि बोल्नुभएको थियो ।

उक्त अवसरमा पूर्वसांसद रामचन्द्र भट्टराईलगायतका विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।