गृहले फिर्ता बोलायो सप्तरीका सिडियो र प्रहरी प्रमुख

काठमाडौं– सप्तरीमा प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच सोमबार भएको झडपका क्रममा ३ जनाको मृत्यु भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई आज बिहान प्रहरी मुख्यालय नक्साल बोलाएर सप्तरीमा भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिएका छन् ।

उनले गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अबस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएको उनका प्रेस सल्लाहाकार रामजी दाहालले जानकारी दिएका छन् ।

करिब डेढ घण्टा भएको छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको कार्यबिभाग प्रमुख सहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थीबिच छलफल भएको हो ।

छलफलमा सुरक्षा निकायका प्रमुखहरुले हिजो र आज भएका घटनाबारे जानकारी गराएका थिए ।