रिडी माविमा पहिलोपटक पुनर्मिलन कार्यक्रम सम्पन्न

गुल्मी– २०३३/३४ सालमा रिडी माविबाट एसएलसी दिने विद्यार्थीहरुले पुनर्मिलन कार्यक्रमको आयोजना गरेका छन् ।

रिडीमै पहिलो पल्ट आयोजना गरिएको उक्त कार्यक्रममा आफ्ना गुरुलाई विशेष सम्मान तथा विद्यार्थीहरुकाबीच भेटघाट गरिएको हो ।

पूर्वविद्यार्थी राजु राणा मल्लको संयोजकत्वमा आयोजना भएको उक्त कार्यक्रममा त्यो बेलाको ५० जना विद्यार्थीहरुमध्ये ३० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्ना चारजना गुरुहरु कृष्णचन्द्र गैरे, लोमजंग राणा, तिलकराम आचार्य र महेन्द्र कर्माचार्यलाई विशेष सम्मान गरिएको थियो ।

17012633_10208534058697809_430940673_nबेलायतमा बसोबास गर्दै आउनुभएकी कार्यक्रम संयोजक राजु मल्लले उनीहरु लाई पाल्पाली सल ओढाएर करुवा उपहार प्रदान गरि सम्मान गर्नुभएको थियो। कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरु तथा विद्यार्थीहरुलाई मायाको चिनो वितरण गरिएको थियो।

त्यसैगरी पुनर्मिलन कार्यक्रममा सहभागी विद्यार्थीहरुबाट आर्थिक संकलन गरि २ लाख ५० हजार रुपैयाँ विद्यालयमा अक्षयकोषको रुपमा जम्मा गर्ने घोषणा गरिएकोछ भने आउने दिनहरुमा यो रकम लाई बढाएर १५ लाख रुपैया सम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

राजु मल्लको सभापतित्वमा आयोजित कार्यक्रमको विशेष अतिथिहरुमा चार जना पूर्वशिक्षकहरु कृष्णचन्द्र गैरे, लोमजंग राणा, तिलकराम आचार्य, महेन्द्र कर्माचार्य रहनु भएको थियो भने अतिथिहरुमा रिडी मावि व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजू, प्रधानाध्यापक रोहित भण्डारी, ओम अमात्य र भीमबहादुर पौडेल रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य पर्शुराम भट्टराई र धन्यवाद मन्तव्य रामेश्वरमान बजिमयले गर्नु भएको थियो। कार्यक्रममा सहभागी हुन देश तथा बिदेशबाट समेत आएका थिए।