काठमाडौं। नेपाली अल्ट्रा धाविका मीरा राईले वर्षकै साहसी व्यक्ति ‘एड्भेन्चरर अफ द इयर’को उपाधि जितेकी छन् ।
विश्व प्रसिद्ध टेलिभिजन च्यानल नेसनल ज्योग्राफीले उनलाई एडभेन्चरर अफ द इयर घोषित गरेको हो । विश्वका साहसिक सफलता प्राप्त गर्ने साहसी महिलाको सूचीमा परेकी उनले आफूसँगै परेका ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधी चुम्न सफल भएकी हुन् ।
अनलाइन भोटिङका आधारमा राईले उपाधि जितेकी हुन् । नेसनल ज्योग्राफीले विगत १२ वर्षदेखि प्रदान गर्दै आएको यो उपाधिका लागि विश्वका अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्नेहरुलाई छनोट गर्ने गरेको छ ।
धाविका मीरा राईले गत वर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्वविजेतालाई पछि पार्दै उपाधी चुम्नसमेत सफल भएकी थिईन् । भोजपुरमा जन्मेकी मीरा राई १४ वर्षको उमेरमा तत्कालीन नेकपा माओवादीले शुरु गरेको सस्त्र द्वन्द्वमा प्रवेश गरेकी थिईन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि उनी अयोग्य लडाकुको सूचीमा परेकी थिईन् । उनले म्याराथनमा दर्जनौं उपाधी चुमिसकेकी छन् ।






