उपेन्द्र यादवले भेटे बेलायती राजदूत

upendra yadav
काठमाडौं- संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बेलायती राजदूत रिचर्ड मोरिससँग भेट गरेका छन् ।

अध्यक्ष यादवले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिजसँग पनि भेट गरेका छन् । विहान काठमाडौंमा भएको छुट्टाछुट्टै भेटवार्तामा जारी मधेश आन्दोलनको माग, अवस्था, विकसित वार्ता प्रक्रिया लगायत नेपालको समसामयिक राजनीतिक विषयमा अध्यक्ष र राजदूतहरुबीच छलफल भयो ।

छलफलमा फोरम नेपालका अध्यक्ष यादवले संविधान त्रुटिपूर्ण रहेको हुँदा मधेशी, थारु, आदिवासी जनजाति, दलित, महिला लगायतले नयाँ संविधानमा आफ्नो अधिकार सुनिश्चित गराउनका लागि जारी आन्दोलनको माग र अवस्था तथा उनीहरुको मागप्रति संविधान जारीकर्ता तीन दल एवं सरकारी रवैयाबारे राजदूतहरुलाई अवगत गराएका थिए ।

नेपालको नयाँ संविधानले मधेशी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, उत्पीडित, सीमान्तकृत लगायत अल्पसंख्यक समुदायलाई समेट्न नसकेकोले संविधान संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्न राजदूतहरुले सुझाव दिएका छन् । वर्तमान संविधान असमावेशी, विभेदकारी एवं त्रुटिपूर्ण रहेको हुँदा ती प्रावधानहरुलाई सच्याउन संविधान संशोधनको विकल्प नरहेको अमेरिकी राजदूत तेप्लिज र बेलायती राजदूत मोरिसले सुझाव दिए ।

संविधानमा अपनत्व महसूस नगरेका र आन्दोलनरत विभिन्न पक्षहरुको मुद्दाहरुलाई यथासम्भव छिटो सम्बोधन गरी मुलुकको संकट समाधान हुनु पर्नेमा उनीहरुको जोड थियो ।