भैरहवा–नयाँ शक्ति नेपालका केन्द्रिय संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जातीयताका कुरा गर्ने एउटा समूह र मधेश अलग राष्ट्र हुनु पर्ने कुरा गर्दै आएको पृथकतावादीहरु एउटै स्थानबाट सञ्चालन भैरहेको आरोप लगाएका छन् ।
नाम नलिईकन उनले भने, “ अलगाववादी को हो ? र पृथकतावादी को हो ? तपाईहरुलाई राम्ररी थाहा छ ।” यद्यपी उनले उनीहरु कहाँबाट सञ्चालित भएको भन्नेबारे चाहिँ भट्टराई खुलेनन् ।
नयाँ शक्ति नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै भट्टराईले मधेशीहरु देशका सच्चा पहरेदार बनी देशभक्ति र राष्ट्रियताको रक्षा गरि रहेको बताए । उनले मधेशी माथी शंका गरी मूलप्रवाहबाट अलग नपार्न ठूला दललाई आग्रह गरे ।
फरक प्रंसङ्गमा बोल्दै उनले देशमा बिकास र समृद्धिको लागी स्थिर राजनितिको आवश्यकता रहेको औल्याए । उनले मधेशी लगायतको माग सम्बोधन गरि संविधान संसोधन गरेर यसलाई कार्यान्वयन तर्फ लैजानु पर्ने पनि बताए ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदिय प्रणाली हुनु पर्ने आफ्नो पार्टीको धारण रहेको बताउदै यसको लागी १० लाख नेपालीको हस्ताक्षर संकलन गरि संसदमा बुझाउने बताए ।
कार्यक्रममा रुपन्देहीका बिभिन्न दलमा आवद्ध २ सय ९० जनाले अन्य पार्टी परित्याग गरि नया शक्ति नेपालमा प्रवेश गरेको जिल्ला संयोजक देवेन्द्र सागर पाण्डेले जानकारी दिए ।






