शीर्ष नेताहरुबीच सहमति नभएपछि मध्यरातमा संविधान सभामा तोड़फोड़,मर्यादापालक घाइते

काठमाडौँ : प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति नभएपछि मध्यरातमा भएको झडपका क्रममा टाउको फुटेका र हात भाँच्चिएर घाइते तीन जना मर्यादापालकलाई राति अबेर नै वीर अस्पताल लगिएको छ। झडपका क्रममा कुर्सी र माइक तोडफोड भएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफू र विद्या भण्डारीमाथि पनि ताकी ताकी आक्रमण भएको बताएका छन्।

mainphoto

मध्यरात १२ बजिसकेपछि बसेको बैठकमा संवाद समितिका सभापति बाबुराम भट्टराईले लामो मन्तव्य राखिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले बहुमतीय प्रक्रियामा लैजाने प्रक्रिया अघि बढाए। त्यसका लागि प्रश्नावली निर्माण गर्ने प्रस्ताव समितिसम्बन्धी प्रस्ताव राख्न नेपाली कां‍ग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एमाओवादी तथा मधेसकेन्द्रित दलका सभासद्हरु नाराबाजी गर्दै एक्कासी कुर्सीबाट उठेर सभाध्यक्ष बस्ने ड्यासतिर अघि बढे |

मर्यादापालकहरुले घेरा हालेर रोक्न खोज्दाखोज्दै पनि त्यसलाई तोड्न एमाओवादी सभासद्हरु जनार्दन शर्मा, अमनलाल मोदी लगायतका भिडेका थिए। करिब सात मिनेटको झडपपछि नेम्वाङले संविधान सभाको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।

तर घोषणापछि पनि झडप रोकिएन। विपक्षी सभासद्हरुले कुर्सी उचाल्दै भूँइमा बजारिरहेको दृश्य निकै अबेरसम्म देखिएको थियो। ‘स‍ंविधान सभाका दलालहरु मूर्दावाद’ नारा लगाउँदै सभासद्हरुले लामै समय उपद्रो मच्चाए।

झडपका क्रममा तीन जना मर्यादापालक घाइते भएका छन्। विष्णु केसीको हात भाँच्चिएको छ भने चरित्र तिवारीको टाउको फुटेको छ। त्यसैगरी एक महिला सभासद् सुनीता सुब्बा पनि घाइते भएका छन्। उनीहरुलाई राति अबेर नै एम्बुलेन्समा राखी वीर अस्पताल लगियो।

विगतमा दलबीच भएका सहमति र सम्झौताका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउँदा मुलुक र जनताले अपनत्व महसुस गर्ने सभापति डा भट्टराईको कथन थियो । सत्तरीवर्षदेखि नेपाली जनताको चाहनाअनुसार संविधानसभाबाटै संविधान गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको र त्यसमा सहमति हुनुपर्ने र अल्पमत र बहुमतका आधारमा निर्णय गर्न नहुनेमा उनले जोड दिए ।

यही माघ ८ गते संविधान जारी गर्ने दलहरुको प्रतिबद्धता भए पनि एक दुई दिन तलमाथि गरेर जनपक्षीय संविधान जारी गर्नु र सबैले अपनत्व गर्ने वातावरण तयार पार्नु आजको आवश्यकता भएको उनको भनाइ थियो । दुई दिन सहमतिका लागि कुर्ने कि १६० दिन लामो बहुमतीय प्रक्रियामा जाने, उनको प्रश्न थियो। ‘मेरा कमजोरी भए मलाई समितिको सभापतिबाट हटाइयोस्, प्रमुख शक्तिले पनि आत्मसमीक्षा गरेर सहमतिको संविधान बनाउनेतर्फ लाग्नुपर्छ, अब गल्ती नगरौँ, त्यसो गरेमा ऐतिहासिक भुल हुनेछ,’ उनले भने। –