इस्लामाबाद, ३ चैत । पाकिस्तानका विभिन्न जेलमा रहेका कम्तीमा १२ जना अपराधीलाई मङ्गलबार विहान फाँसी दिइएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पूर्वी पञ्जाब प्रान्तका विभिन्न जेलमा रहेका १० अपराधी र कराँचस्थित दुई जनालाई फाँसी दिइएको स्थानीय उर्दु च्यानलले जानकारी दिएको छ ।
ती अपराधीलाई झाङ्ग, मेनवाली, रावलपिन्डी, कराँची, फैसलाबाद, गुज्रान्वाला र मुल्तान जिल्लाहरुमा फाँसी दिएको जनाइएको छ । मङ्गलबार विहान १४ जना अपराधीलाई फाँसी दिइने सुची तयार गरिएकोमा अन्तिम घडीमा दुई जनालाई सो सुचीबाट हटाइएको जनाइएको छ । उनीहरुलाई आजै फाँसी नदिइएको हो वा फाँसीको सजाय नै मिनाहा गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन ।
फाँसी दिइएका ती व्यक्तिहरुमाथी घरेलु हिंसा र आतङ्ककारी आक्रमणको आरोप लागाइएको थियो । उनीहरु लामो समयदेखि नै जेलमा रहेका थिए । गएको छ बर्षयता स्थगित गरिएको फाँसीको सजाय पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले खुल्ला गर्नुभएयता कयौँ अपराधीलाई पाकिस्तानमा फाँसीमा झुण्डाइसकिएको छ । प्रधानमन्त्रीले उक्त निर्णय प्रान्तीय राजधानी पेसावरमा रहेको एक सैनिक विद्यालयमा तालिवानी आतङ्ककारी समूहले ३४ जना बालबालिकासहित १५० व्यक्तिको हत्या गरेपछि आएको हो ।
पाकिस्तानमा मङ्गलबार मात्र बाह्र जनालाई फाँसी






