सभापतिमा देउवाका १० महिना : पार्टी प्रवक्तासमेत चयन गर्न सकेनन्

काठमाडौं – कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि, विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । नभन्दै १३औँ महाधिवेशनबाट कोइराला बिरासतलाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित भए ।

औपचारिक रूपमा कांग्रेसको कमान्ड हातमा आएको अहिले दश महिना बितेको छ, तर तिनै देउवाले पार्टीको विधानले बाँधेका कैयौँ कामलाई पूर्णता दिन सकेका छैनन् । दुई महिनाभित्र पदाधिकारी चयन, विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति गठनजस्ता महत्वपूर्ण काम गर्न देउवा असफल देखिएका छन् ।

तर, लामो समयदेखि रोकिँदै आएका तीन महत्वपूर्ण भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गराउन र एमाले–माओवादीको सत्ता गठबन्धन तोडेर आफ्नो दलको सहभागितामा नयाँ सत्ता समीकरण निर्माण गर्न भने देउवा सफल देखिएका छन् ।

वैशाखमा मुख्यसचिव चयन
किस्ता–किस्तामा केन्द्रीय सदस्य मनोनीत गरेका देउवाले २७ वैशाखमा केन्द्रीय कार्यालयको मुख्यसचिवमा स्याङ्जाका कृष्णप्रसाद पौडेललाई नियुक्ति गरे । पौडेल ट्रेड युनियन कांग्रेस र शिक्षक संघमा काम गर्दै आएका थिए ।

देउवापक्षीय एक नेता दुई महिनामा गर्नुपर्ने मनोनयनदेखिका प्रक्रिया पूरा गर्न नसक्नुलाई नेता व्यवस्थापनको समस्या मान्छन् । ‘सभापतिले गर्दिनँ भनेर कहिल्यै पनि भन्नुभएको छैन, तर १० महिना भयो गर्नुभएको पनि छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्ने बहाना देखाएर आफ्नो अक्षमता ढाक्न खोजिँदै छ ।

प्रवक्ताविनाको १० महिना
देउवाले पार्टीको प्रवक्तासमेत चयन गर्न सकेका छैनन् । प्रवक्तामा डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश रिजाल, एनपी सावदलगायतको दाबेदारी छ । प्रवक्ता पदको हैसियत पदाधिकारीजत्तिकै हुने भएकाले यसमा धेरैले आँखा लगाएका छन् । आकांक्षी धेरै हुँदा देउवाले चयन गर्न सकेका छैनन् । प्रवक्ताविना नै पार्टीका चारवटा केन्द्रीय कार्यसमिति बैठक बसेको कांग्रेसमा बैठकका निर्णय बाहिर ल्याउन एकरूपताको अभाव देखिएको छ ।