लन्डन । राष्ट्रवादी संगठन बेलायतले राष्ट्र निर्माता वडामहाराजधिराज श्री ५ पृथ्वी नारायण शाहको २९५ औं पृथ्वी जन्मजयन्ति भव्यताका साथ जनवरी ११ तारिख बुधबार लन्डनको वाटफोर्ड रोडस्थित हिमालयन क्लवको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।
समाजसेवी डा. राघवप्रसाद धिताल (ओविइ) को प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको छ । कार्यक्रम समाजसेवीहरु विकलचन्द्र आचार्य, चिरन्जीबी ढकाल, कृष्ण भट्ट, बसन्त साहा, हरि थापा, लगायतको सहभागिता छ ।
लन्डनमा पृथ्वी जयन्ती मनाउने अभियान शुरु गरेका अभियन्ता नारायण अधिकारीले सन्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष भरत रोका क्षेत्रीले गरेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष भरत क्षेत्रीले पृथ्वीनारायणकै कारण विश्वमा नेपालीहरुको पहिचान स्थापित भएको बताए । उनका उपदेशहरु अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य भएको उनको भनाइ छ ।













