तीव्र हावा, हुरीका कारण फैलिएको आगोका विशाल लप्काले जापानको सामुद्रिक तटवर्ती एक सानो नगरमा कम्तीमा १ सय ४० भवन जलाएको छ ।
जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुरेन्टबाट बिहीबार बिहान सल्केको आगो कडा आँधीबेहरीको चपेटामा परेपछि उग्ररुप लिएर विशाल लप्कामा परिणत भएको थियो । मध्य दिउँसोसम्म इतोइगावाका कम्तीमा १ सय ४० वटा आवासीय र अन्य ठूला भवन जलेका छन् ।
स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भएका छन् । दुईजनालाई सामान्य चोटपटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन । आगलागी अन्यत्र पनि फैलिने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय अधिकारीहरूले वरपरका २ सय ७३ भवन तत्कालै खाली गरी मानिसलाई बाहिर निस्कन सूचना जारी गरेका छन् ।






