दाहाल सरकारका सबैभन्दा धनी मन्त्रीको सम्पत्ति कति ?

काठमाडौं– आपूर्तिमन्त्री दीपक बोहरा वर्तमान मन्त्रिपरिषदका सबैभन्दा धनी मन्त्री बनेका छन् ।

बुधबार सार्वजनिक भएको सम्पत्ति विवरणले उनी सबैभन्दा धनी मन्त्री रहेको देखिएको हो । मन्त्री बोहराको राजधानीमा ३ वटा अपार्टमेन्ट छन् ।

ती अपार्टमेन्टको मूल्य ३ करोड २५ लाख ३३ हजार छ । काभ्रेको पाँचखालमा ३ रोपनी १२ आना एक कित्ता र ५ रोपनी १० आना अर्को कित्ता जग्गा छ ।

यस्तै काठमाण्डुको खड्काभद्रकालीमा २ सय ८७ वर्गमिटर तथा श्रीमती उन्नतीका नाममा गोठाटारमा २ सय वर्गमिटर जग्गा छ । बोहराले आफूसँग १ सय २० तोला सुन, ५ सय तोला चाँदी रहेको उल्लेख गरेका छन् ।

उनीसँग विभिन्न बैंकमा गरेर करिब डेढ करोड रुपैयाँ नगद, १९ हजार २ सय तथा विभिन्न कम्पनीको ६ करोड मूल्य बराबरको शेयर छ । उनीसँग ४० लाख र १६ लाख मूल्यका दुई वटा गाडी छन् ।