काठमाडौँ, ११ मङ्सिर । पुरानो शक्ति अभियानले विसं २०४६ पछि सार्वजनिक पद धारण गरेका सबै नेता, प्रशासक तथा उच्च अधिकारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै आज प्रदर्शन गरेको छ ।
छानबिनपछि स्रोत नखुलेका सम्पत्तिको कोष बनाएर गरिब वर्गको शिक्षा र स्वास्थ्यमा प्रयोग गर्नुपर्ने माग राखेर अभियानले स्थानीय शान्तिबाटिकामा आयोजना गरेको सभामा पार्टीका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालीको राजकीय सत्तालाई संरक्षण गर्न वैदेशिक हस्तक्षेपको अन्त्य गर्नुपर्ने र देशका विभिन्न तहमा हुने गरेका भ्रष्टाचार नियन्त्रण गरी राष्ट्रको आर्थिक विकासमा लगाउनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकलाई हिन्दू राष्ट्र कायम गरी विश्वमा रहेका हिन्दू तथा बौद्ध अनुयायीलाई नेपालका सम्पदास्थल भ्रमण गराई धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
विसं २०७२ फागुन ७ गते स्थापित सो अभियानले मुलुकमा विद्यमान राजनीतिक अन्योल तथा अस्थिरताको अन्त्य गर्न विसं २०४७ को संविधान जारी गर्न समेत दिएको छ ।






