काठमाडौं २ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा नआएको भए माओवादी पार्टी पेरु र फिलिपिन्समा जस्तै सिद्धिने विश्लेषण कार्यकर्तालाई सुनाएका छन् । अब पार्टीले बढी आश नगरी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नेतिर लाग्नुपर्ने प्रचण्डले बताएका छन् ।
‘अस्ति गणेशमान पुनजी पेरु जाँदा त्यहाँ कम्युनिष्ट पार्टीको गन्ध छ कि छैन बुझ्नु है भनेको थिएँ, तर, कम्युनिष्टको ‘क’ पनि भेटिएन भन्दै आउनुभयो,’ शुक्रबार ललितपुरको खन्ना गार्मेन्टमा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रचण्डले भने,-‘चुनवाङ हुँदै हामी यो शान्ति प्रक्रियामा नआएको भए पेरु र फिलिपिन्समा जस्तै हुन्थ्यौं ।’
अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि खतरा पैदा भएको भन्दै प्रचण्डले ती उपलब्धीको रक्षाका लागि संविधानसभाभित्र र बाहिरबाट संघर्ष गर्नुपर्ने बताए ।
‘हिजोका सम्झौता र सहमतिभन्दा बढी आश नगरौ’, नेवा र ताम्सालिङ राज्य समितिअन्तरगतका करिब एक हजार कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिँदै प्रचण्डले भने- ‘हिजोका सम्झौता र सहमति भनेको मुख्यतः बाह्रबुँदे समझदारी, शान्ति सम्झौता र अन्तरिम संविधानको भावना हो, परिवर्तनका यी एजेन्डालाई संस्थागत गर्नेगरी संविधान बनाउन जोड गर्नुपर्छ ।’
प्रक्रियामा जानु भनेको सहमति सकिनु
कांग्रेस र एमालेले संविधानसभाबाट प्रश्नावली समिति बनाएर प्रक्रियामा जान जोड गरिरहेको भन्दै प्रचण्डले कार्यकर्तासँग भने, ‘प्रक्रियामा जानु भनेको सहमतिको सम्भावना सकियो भन्ने हो, हामी त्यसो गर्न दिँदैनौं ।’
एमाओवादी अध्यक्ष प्रचण्डले संविधान सभाभित्र टाउको फुटाएर भए पनि उपलब्धिको रक्षा गर्ने कार्यकर्तालाई बचन दिए ।
प्रचण्डले भने-‘यदि नेतृत्वले संविधानसभाभित्र आफैं प्रतिवाद गर्नुपर्ने अवस्था आयो भने पनि हामी आफ्नो टाउको फुटाएर भए पनि उपलब्धिहरुको रक्षा गर्ने तपाईहरुलाई विश्वास दिलाउन चाहन्छौं ।’
ठूला नेतालाई फिल्डमा आउन निर्देशन
प्रचण्डले आफ्नो पार्टीका पोलिटब्यूरो सदस्य र केन्द्रीय सदस्यहरुलाई माघ ६ गते फिल्डमा उत्रन निर्देशन दिएका छन् । ‘माघ ६ गते सबैले फिल्डमा आएर कमान्ड सम्हाल्नुपर्यो’ प्रचण्डले भने- ‘हामी संविधानसभाभित्र संघर्ष गर्छौं, भनेर तपाईहरु पत्याउनुहुन्न, गरेर देखाउने बेला आएको छ ।’
आन्दोलनका बेला उपत्यका वरिपरिका धादिङ, काभ्रे, चितवन आदि जिल्लामा कार्यकर्ता परिचालन गर्न प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।
शान्ति प्रक्रियामा आएपछि पार्टीमा केही कमजोरी देखिए पनि पूरै बिग्रिइनसकेको प्रचण्डले बताए । अब संविधानको सुनिश्चिततापछि पार्टी को ध्यान महाधिवशेनतर्फ केन्दि्रत हुने उनले बताए । पार्टीको नेतृत्व हस्तान्तरणको प्रस्ताव अहिले ल्याएको नभई जनयुद्धकै बेलाबाट ल्याएको उनले कार्यकर्तालाई बताए ।






