सरकारको लिखित प्रतिबद्धतापछि डा. केसीको अनशन स्थगित

काठमाडौँ, ४ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै आजबाट नवौँ अनशनको घोषणा गर्नुभएका डा गोविन्द केसीले सरकारले लिखित रुपमा माग कार्यान्वयनको प्रतिबद्धता पत्र पठाएपछि एक हप्ताका लागि अनशन स्थगित गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनीराम पौडेलले डा केसीलाई उहाँले राख्नुभएका चार बुँदा मागमध्ये तीन बुँदा कार्यान्वयनमा रहेको खाकासहितको पत्र पठाएपछि अनशन स्थगित गर्नुभएको हो ।

शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मलेन गरी डा केसीले सरकारले अघि बढाएको कामका लागि केही समय दिनु आवश्यक ठानेर एक साताका लागि अनशन स्थगित गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज १० गतेसम्म लिखित प्रतिबद्धताअनुसार सम्झौता कार्यान्वयन नभए र प्रतिबद्धतामा नपरेको अदुअआका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने प्रक्रिया संसद्बाट अघि बढाउने काम भएन भने सोही दिन अपराह्न ४ बजेबाट नवौँ आमरण अनशन सुरु गर्नेछु ।”

केसीको मागअनुसार मनमोहन प्रतिष्ठानको विधेयक संसद्बाट फिर्ता लिने, चिकित्साशिक्षा विधेयकबारेमा संसद्को आगामी ९ गतेदेखि बस्ने बैठकमा सैद्धान्तिक छलफल सुरु गर्ने, विगतमा भएको सम्झौता र माथेमा कार्यदलको सुझावलाई समेत ध्यानमा राखी नयाँ चिकित्सा ऐन नबन्दासम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया रोकिएको उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको जनाएको छ ।