काठमाडौँ, २ असोज । इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ ।
उक्त दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनमा इन्जिनको खराबीले आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको औँल्याएको हो ।
विसं २०७२ फागुन ११ गते नेपालगन्जबाट जुम्लाका लागि यात्रु चार्टड उडानमा रहेको एयर काष्ठमण्डपको नाइन एन एजेबी पिएसी ७५० एक्सएल विमान प्राविधिक समस्या आई कालिकोटको चिलखाया–१ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा विमान चालक र सहचालकको मृत्यु भएको थियो भने विमानमा सवार नौ यात्रुमध्ये (केही घाइतेसहित) सकुशल रहेका थिए ।
दुर्घटनाग्रस्त विमानको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । झन्डै पाँच महिनापछि आयोगले आज पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन बुझाएको हो ।
सो अवसरमा मन्त्री शाहीले प्रतिवेदनअनुसार सरकारले आवश्यक सुधारका काम गर्ने भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायत सरोकारवाला निकायलाई हवाई सुरक्षाको गुणस्तर कायम गर्न र यसमा संलग्न दक्ष जनशक्ति पूर्ति गर्न निर्देशन दिनुभयो ।






